वैशाख १ गते, नेपालीले नया वर्ष मनाउने दिन हो । यो दिन नेपालीहरू
शुभकामना साटासाट गरि मनाउँछन् । विक्रम संवत् नेपालमा परापूर्व काल (विभिन्न समयका सिला लेख
जस्तै लिच्छवि काल, मल्ल काल आदि बाट प्रमाणित हुन्छ) देखि चल्दै आएको भएपनि यसलाई आधिकारिक रूपमा चलन चल्तीमा ल्याउने काम
चन्द्र शम्शेरले गरे । नेपालमा नागरिक प्रयोग र आधिकारिक प्रयोगमा सौर्य वर्ष (विक्रम संवत्) र सौर्य महिना (वैशाख, जेठ, असार, साउन …) प्रयोग गरिन्छ ।
नेपालमा कहिले कहीँ नेपाली पात्रो बाट एक महिना
घटाउनु पर्ने भन्ने लगाएतका कुरा हुने गर्छन् जुन कुराको कुनै अर्थ नै छैन ।
नेपाली पात्रो प्रणाली र यसको वैज्ञानिक अर्थ नबुझेर यस्तो भनिएको हो । नेपाली
पात्रो चन्द्र र सुर्यको स्थानको गणना गरि तयार गरिन्छ । यसमा विक्रम संवत् सुरु
हुनु भन्दा करिब ४५० वर्ष पहिले लेखिएको ग्रन्थ सुर्य सिद्धान्तको गणितको नियम र
आधुनिक वैज्ञानिक पद्धतिको पनि प्रयोग गरिन्छ । नेपाली पात्रोमा चन्द्र महिना र
सुर्य महिना हुन्छन् । चन्द्र महिना शुक्ल पक्षको प्रतिपदा बाट सुरु भएर पुर्णिमा
मा सकिन्छ । यसमा कृष्ण पक्षका १५ दिन (प्रतिपदा, दुतिया,
…, औँसी) र शुक्ल पक्षका १५ दिन (प्रतिपदा, दुतिया, …, पुर्णिमा) हुन्छन् । नेपाली चाड पर्वहरूको लागी
यही चन्द्र महिनाका दिनहरू प्रयोग गरिन्छ जस्तै असोज
शुक्ल दशमीका दिन दसै पर्छ । खास चन्द्रमाले पृथ्वीलाई ३६० डिग्री परिक्रमा गर्न २७.५५४५५ दिन लगाए पनि पुर्णिमा देखि अर्को पुर्णिमा सम्मलाई चन्द्र महिना मानिन्छ जुन २९.५३०६ दिनको हुन्छ । त्यसैले चन्द्र महिनालाई लिएर वर्ष बनाउँदा ३५४.३६७२ दिनको वर्ष हुन्छ जुन सौर्य वर्ष भन्दा १०.८७
दिन छोटो हुन्छ ।
पृथ्वीले सुर्यको परिक्रमा गर्दा ३६० डिग्री पार गर्न ३६५.२५६३६३ दिन लाग्छ । यसरी पृथ्वीले ३६० डिग्री पार
गर्दा गणना गर्ने वर्षलाई निरायण वर्ष (sidereal year) भनिन्छ । नेपाली पात्रोले वर्ष गणना गर्दा निरायण वर्ष गणना गर्छ । तर इस्वी संवत् ले सायन वर्ष (tropical year) प्रयोग गर्छ । सायन वर्षमा हाल ३६५.२४२१९ दिन
हुन्छन् । पृथ्वी भुरुङ जस्तै ढल्केर आफू घुम्ने भएकोले (precession
of the equinoxes) सायन वर्षमा ऋतु मिलाउनका लागि हाल ३६० डिग्री नपुग्दै वर्ष टुङ्गिन्छ र यो हरेक वर्ष
३६० डिग्रीमा ५३.३" घट्दै
जान्छ । हाल निरायण वर्ष र सायन वर्ष को फरक २० मिनेट
२४.५ सेकेन्डको छ, त्यसैले करिब
७० वर्षमा १ दिनको र करिब १०५८ वर्षमा १५ दिनको फरक पर्छ । त्यसैले अहिले पुस १७
गते जनवरी १ छ भने १०५८ वर्ष पछि पुस २ गते जनवरी १ हुन्छ । विक्रम संवत् को सुरु
देखि अहिले सम्म विक्रम र इस्वी संवतमा २९ दिन फरक परिसकेको छ । नेपाली पात्रो
अनुसार यही कारणले गर्दा ऋतुहरू सर्दै जान्छन् तर इस्वी पात्रो अनुसार ऋतुहरू अचल
हुन्छन् । तर नेपाली पात्रोका सौर्य महिना ठीक राशिमा (तारा
गणको ठीक ठाउँमा जस्तै वैशाख मेश राशिबाट सुरु हुन्छ) सुरु
हुन्छन् भने इस्वी पात्रोमा महिनाहरू राशिबाट सरि रहन्छन् । पृथ्वीको भुरुङ
जस्तै ढल्केर आफू घुम्ने गति करिब २५७७० वर्षको भएकोले २५७७० वर्ष पछि निरायण वर्ष र सायन वर्ष त्यही ठाउँमा
आइ पुग्छ र नेपाली पात्रो अनुसार ऋतुहरू पनि उही ठाउँमा पर्छन् ।
चित्रमा पृथ्वीको आफ्नो
२४ घण्टे परिक्रमा र पृथ्वी ढल्किदैं घुम्ने २५७७० वर्षको परिक्रमा देखाइएको छ ।
चन्द्र महिना लाई लिएर वर्ष गणना गर्दा वर्ष १०.८७
दिन छोटो हुने भएकोले त्यसलाई सौर्य महिनामा अधिकमास (मलमास) को प्रयोग गरेर
समायोजन गरिन्छ । अधिकमास परेको बेला १३ चन्द्र महिनाको वर्ष हुन्छ । अधिकमास
परेको बेला थपिएको चन्द्र महिनाका नाम अगाडि अधिक जोडिन्छ र पहिलेको चन्द्र
महिनाको अगाडि सुद्ध जोडिन्छ । जस्तै सुद्ध जेठ कृष्ण पक्ष र अधिक जेठ कृष्ण
पक्ष । साधारणतया सौर्य महिना भित्र एउटा औँसी पर्छ र त्यो औँसी पर्ने चन्द्र
महिनाको नाम पनि त्यही सौर्य महिनाको नामबाट राखिन्छ जस्तै पुस कृष्ण पञ्चमी । तर
यदि कुनै सौर्य महिनामा दुई वटा औँसी पर्यो भने त्यो महिनामा अधिक चन्द्र महिना
हुन्छ । तर कहिलेकाहीँ कुनै सौर्य महिनामा एउटा पनि औँसी परेन भने त्यो महिनाको
नामको चन्द्र महिना हुँदैन । त्यसलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा क्षयमासको
अगाडि र पछाडि गरेर दुई अधिकमास पनि पर्ने भएकोले वर्षको संरचना सधैँ झैँ १२ महिना
र आवश्यक अधिकमास सहित को नै हुन्छ । क्षयमास बारम्बार परि रहँदैन यो धेरै
वर्षको अन्तरालमा मात्र पर्छ । क्षयमास १९ वर्ष देखि १४१ सम्ममा पर्न सक्छ । आज
भन्दा पहिले वि. सं. २०३९ मा क्षयमास परेको थियो । क्षयमास छोटा महिनाहरू (मङ्सिर, पुस, माघ) मा पर्ने सम्भावना बढि हुन्छ भने अधिकमास लामा महिनाहरू (जेठ,
असार, साउन) मा पर्ने सम्भावना बढि हुन्छ ।
विक्रम र इस्वी संवतमा फरक भएका दिनलाई मिलन
गर्न ०६५ सालमा संस्कृति मन्त्रालयले जलकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल
बनाएको थियो । सो कार्यदलले दिएको सुझावका आधारमा ०६७ सालमा चैत महिना हटाउने
निर्णय मन्त्रालयले गरेको थियो । तर यसको चौतर्फी विरोध भएपछि निर्णय फिर्ता लिइयो
। कुरै नबुझि किन निर्णय गरेको होला ?
पृथ्वीले सुर्यको परिक्रमा गर्दा ३६० डिग्री पार गर्न ३६५.२५६३६३ दिन लाग्छ तर प्राचीन ग्रन्थ सुर्य सिद्धान्तको अनुसार
वर्ष ३६५.२५८७५६ दिनको हुन्छ । नेपाली पात्रोले सुर्य सिद्धान्तको नियम मान्ने
भएकोले सहि वर्ष र नेपाली पात्रोको वर्षको फरक ३ मिनेट २७ सेकेन्डको हुन्छ । यदि
सहि समयको क्रम प्रयोग गरि वैज्ञानिक पात्रो बनाउने भए नेपाली पञ्चाङ्ग
निर्माताहरूलाई म यो निरायण वर्षको समय सच्याउन सुझाव दिन्छु ।
छिमेकी राष्ट्र भारतमा पनि सुर्य सिद्धान्तको वर्षलाई
सच्याएर निरायण वर्षको सहि समय प्रयोग गर्न पात्रो सुझाव आयोगले इस्वी १९८८ मा
प्रतिवेदन पेस गरेको छ । त्यस सुझावमा महिनाका दिनहरू निश्चित राख्ने र चन्द्र
महिनाको गणना पौराणिक तरिकाले नै गर्ने भनिएको छ । चैत ३०/३१, वैशाख ३१, जेठ ३१, असार
३१, साउन ३१, भदौ ३१ र बाँकी
महिना ३० दिनको गर्नु पर्ने सुझाव दिइएको छ । चैत महिना ३० दिनको हुनेछ र यो चार
चार वर्षमा ३१ को हुने छ र हरेक १६० वर्ष पछि ३१ को हुने छ । इस्वी २००४ मा यो
पात्रोको प्रयोग सरकारले सुरु गर्यो र चैत नभइ फागुनलाई ३०/३१
दिनको गरायो ।
नेपालको पुरानो संवतलाई जोगाउ, यसलाई
वैज्ञानिक बनाउ, सौर्य वर्ष र महिना सबैले बुझ्ने र
हिसाब गर्न सक्ने बनाउ ।
Calendrical Calculation by Nachum Dershowitz
Indian Calendric System by SK Chatterjee
Hey Daya sagar,
ReplyDeleteVery insightful post and very educational too.
I used to make fun of countries entirely based on lunar calander as they have to make yearly adjustment to keep up, never realized that our own calender is a mix of solar and lunar calendar which has its own tendency of slipping sideways!
would love to read more interesting posts from you mate.
Do keep them coming
-Anjan
Thank you Anjan.
ReplyDeletethis artical is very useful to astrologist . thank you daya sagar sir .
ReplyDeleteThank you narendra ji
ReplyDelete