Thursday, November 20, 2014

नेपाली कीबोर्डको (कुञ्जीपाटीको) बनावट

नेपाली कीबोर्ड लेआउट बकमान कसरी बन्यो होला ? सकी नसकि जानी नजानी जबरजस्ती मैले यो किबोर्ड लेआउटलाई आत्मसाथ गरे । अहिले म बकमान लेआउटमा छिटो नभएपनि राम्रो सँग टाइप गर्न सक्छु । यो बिचार मैले यही लेआउट प्रयोग गरेर टाइप गर्दै छु । अहिले आएर मलाइ सारै कौतूहलता बढ्यो कि कसरी यो लेआउट बन्यो होला ।

अङ्ग्रेजी कीबोर्ड लेआउट ASDF (QWERTY) प्रयोगमा आउनुमा कुनै वैज्ञानिक तथ्य भेटिँदैन । यो कीबोर्ड लेआउट टाइप राइटर कम्पनि Remington ले ल्याएको भेटिन्छ । यान्त्रिक (Mechanical) कीबोर्डमा छिटो छिटो टाइप गर्दा अक्षरहरूमा जडीत मसीको रिबनमा ठोक्ने डन्डीहरू एक आपसमा ठोकिने भएको ले धेरै प्रयोग हुने अक्षरहरूलाई छुट्याएर बनाइएको थियो (यहाँ हेर्नुहोस्: http://en.wikipedia.org/wiki/QWERTY) । तर के गर्ने Remington को टाइप राइटर यति प्रख्यात भयो कि पछि कम्युटर मा प्रयोग हुने कीबोर्ड लेआउट पनि Remington टाइपराइटरको कीबोर्ड लेआउट जस्तै भयो । यस्तो हुनुमा धेरै मानिसहरू यो लेआउटमा अभ्यस्त थिए र उनीहरू नया लेआउट प्रयोग गर्न चाहँदैनथे । पछि August Dvorak ले वैज्ञानिक हिसाबले तयार पारेको कीबोर्ड लेआउट प्रस्ताव गरे जसलाई दोभारक लेआउट भनिन्छ । तर दोभारक किबोर्ड लेआउटले QWERTY लाई हटाउन सकेन र सन १८७३ देखि आजसम्म हामी त्यो समस्या समाधान गर्न बनाएको लेआउट चलाउँदै छौं जुन आजको समस्या नै हैन । यो कुरा मलाई बाङ्गो हेन्डल भएको साइकल चलाएको मान्छेलाई सोझो हेन्डल भएको साइकल चलाउन गाह्रो भए जस्तो लाग्यो ।

मलाई त लागेको थियो कि हिन्दी देवनागरीमा लेखिने भएकोले भारत बाट टाइपराइटर ल्याएर त्यही टाइपराइटरको प्रयोग गरेर नेपाली टाइप गर्न थालियो र पछि त्यसैको आधारमा प्रीति लगायतका बकमान लेआउटमा आधारित TTF फन्टहरु बने । तर त्यसो रहेनछ । नेपालीको लागि Remington ले छुट्टै लेआउट बनाएको रहेछ जुन हिन्दीको लागि बनाएको लेआउट भन्दा धेरै फरक रहेछ । अब मलाई पक्का भयो कि QWERTY लेआउटमा जस्तै बकमान लेआउटमा पनि यान्त्रिक कारणले अक्षरहरूलाई मिलाएर तयार पारिएको हो । यसमा पनि अहिले हुँदै नभएको समस्या समाधान गर्न बनाइएको लेआउट चलाउँदै छौं । यो बकमान लेआउटलाई परम्परागत (Traditional) लेआउट भनेर चिनिन्छ ।

नेपाली कम्युटर प्रयोगकर्ता ले प्रयोग गर्ने अर्को लेआउट हो Romanized लेआउट । यो लेआउटमा A मा अ, S मा स, … हुन्छ । QWERTY लेआउट चलाउनेहरूका लागि यो लेआउट उपयोगि हुन्छ । तर यो लेआउट पनि वैज्ञानिक छैन किनकी यो लेआउट पनि अक्षरको प्रयोगको संख्याका आधारमा बनाइएको हैन । अर्को transliteration अर्थात् ka क, kha ख आदि प्रयोग गरेर पनि नेपाली टाइप गर्न सकिन्छ यो पनि वैज्ञानिक छैन । Transliteration पनि QWERTY लेआउट प्रयोग कर्ताका लागि उपयुक्त हुन्छ । Transliteration का लागि Google को सेवा पनि लीन सकिन्छ ।



मुख्यतः नेपालमा नेपाली टाइप गर्न दुईवटा कीबोर्ड लेआउट प्रयोग भएको पाइन्छ । एउटा Traditional (परम्परागत) र अर्को Romanized । जेभए पनि QWERTY लेआउट जस्तै बकमान (Traditional) लेआउट पनि आगामी दिन हरुमा प्रयोगमा आइरहने देखिन्छ । त्यसै गरि Romanized लेआउट पनि QWERTY प्रयोगकर्ता माझ चलिरहने छ । तर नेपालीको लागि August Dvorak ले जस्तै वैज्ञानिक लेआउट बनाउने जमर्को कसैले गर्ला र ?

Tuesday, October 7, 2014

VoIP सम्बन्धी वास्तविकता

“कल आयो पैसा पायो” कस्तो आकर्षक नारा । कुनै समय थियो जति खेर नेपाल टेलिकमले फोन रिसिभ गरेको ३ रुपैयाँ लिन्थ्यो । अहिले चाहिँ रिसिभ गरेको पैसा पाइछ । यो सेवा Ncellले सुरु गर्यो र टेलिकम ले पनि सुरु गरेको छ । यसरि रिसिभ गर्दा पैसा दिने सेवा विशेष समयमा अन्तरराष्ट्रिय कल आउँदा दिने गरिन्छ । 

अचम्मको कुरा के भने, कुनै व्यापार गर्ने संस्था ले नेटवर्कको उपयोग गरेको पैसा लिनु पर्ने मा झनै उल्टो ग्राहकलाई दिन्छन् । यो कसरी ग्राहकको आँखामा छारो हालिन्छ, मेरो अनुभव यस्तो छ ।

म केही समय अघि भारत जाँदा त्यहा बाट फोन गरेको थिए र त्यसको महसुल प्रति मिनेट नेपाली रु १६ तिर्नु पर्यो तर नेपालबाट भारत फोन गर्दा यि दुबै दूरसंचारका संचालकहरुले प्रति मिनेट करिब नेरु ३ लिने गर्छन् । त्यस्तै मैले मलेसिया बाट नेपाल फोन गर्दा प्रति मिनेट करिब नेरू २०० तिरेको थिए (केहि थप पैसा होटले लिएको पनि हुन सक्छ) तर नेपाल बाट गर्दा करिब नेरु ७ तिरे पुग्छ । यी मात्र केही उदाहरण हुन । तपाइँ विदेश गएका नेपालीहरूलाई सोध्नुहोस् उनीहरू फोन गर्दा कति तिर्छन् । बिचरा खाइ नखाइ कमाएको पैसा फोन गर्दा धेरै सकिन्छ । कि फोन नगरि बस्नु पर्यो कि नेपालबाट गर्नु पर्यो ।

नेपालका दूरसंचारका संचालकहरु मिलेर सिन्डकेट बनाएका छन । विदेशबाट फोन आउँदा आफ्नो नेटवर्क प्रयोग गरे बापत धेरै महसुल असुल्ने गर्छन् । यसरी विदेशबाट फोन आउँदा प्रशस्त पैसा कमाउन पाएकोले नेपालका दूरसंचार संचालकहरु मिलेर सिन्डकेट बनाइ प्रशस्त कमाइ रहेका छन् । त्यही बाटो फोन जाँदा एउटा पैसा, अनि आउँदा कयौ गुना धेरै हुन्छ त ? केहि फरक भने हुन सक्छ । नेपालमा फोन गर्ने केही अपवाद छोडेर नेपालीले नै हुन । त्यसैले नेपालीको पैसा लुटिइरहिएकोछ ।

नेपालका मान्यता प्राप्त दूरसंचार कम्पनीहरूले यति धेरै पैसा असुल्ने भएकोले विदेशी कम्पनीहरूले सस्तो कलको लागि प्रयास गर्छन र अबैद VoIP संचालकहरु संग आगमनको सेवा लिन्छन् । विदेशी कम्पनीहरूले सस्तो सेवा दिनका लागी अबैद VoIP संचालकहरु कहा कल पठाउछन (Call routing गर्छन्) र तिनिहरुले उनै मान्यता प्राप्त दूरसंचार कम्पनीहरूको नेट्वर्क बाट ग्राहाक कहा कल पठाउन् । आखिर नेपालका दूरसंचारका संचालकहरु को सिन्डकेटका कारण यिनिहरुलाइ नै घाटा भैरहेको छ र सरकारलाई पनि TSC र VAT गरेर २४% घाटा भैरहेको छ ।

त्यसैले, मेरो बिचारमा अन्तराष्ट्रिय आगमन कलको दर घटायो भने विदेशी कम्पनीहरूले अबैद VoIP संचालकहरु बाट कल नपठाइ मान्यता प्राप्त दूरसंचार कम्पनीहरूमार्फत कल पठाउछन् र उनिहरुलाई र अन्तमा देशलाइ नै फाइदा हुन्छ । यसरि अहिले आउने कल भन्दा अझ बढि हनेछ र कालान्तरमा यिनिहरूलाई नै फाइदा हुनेछ । नत्र आधा भन्दा कम पैसा लिएर पनि फाइदा हुने देखेपछि अबैद VoIP संचालकहरु अझ बढ्ने छन् र Ncell र नेपाल टेलिकमले जस्ता मान्यता प्राप्त दूरसंचार कम्पनीहरूले अन्तराष्ट्रिय आगमन कलबाट सुको कमाउने छैनन् ।

यसमा सबैको ध्यान जानु आवश्यक छ ।

Thursday, June 5, 2014

नेपाली वर्षको गणना


वैशाख १ गते, नेपालीले नया वर्ष मनाउने दिन हो । यो दिन नेपालीहरू शुभकामना साटासाट गरि मनाउँछन् ।  विक्रम संवत् नेपालमा परापूर्व काल (विभिन्न समयका सिला लेख जस्तै लिच्छवि काल, मल्ल काल आदि बाट प्रमाणित हुन्छ) देखि चल्दै आएको भएपनि यसलाई आधिकारिक रूपमा चलन चल्तीमा ल्याउने काम चन्द्र शम्शेरले गरे । नेपालमा नागरिक प्रयोग र आधिकारिक प्रयोगमा सौर्य वर्ष (विक्रम संवत्) र सौर्य महिना (वैशाख, जेठ, असार, साउन …) प्रयोग गरिन्छ ।

नेपालमा कहिले कहीँ नेपाली पात्रो बाट एक महिना घटाउनु पर्ने भन्ने लगाएतका कुरा हुने गर्छन् जुन कुराको कुनै अर्थ नै छैन । नेपाली पात्रो प्रणाली र यसको वैज्ञानिक अर्थ नबुझेर यस्तो भनिएको हो । नेपाली पात्रो चन्द्र र सुर्यको स्थानको गणना गरि तयार गरिन्छ । यसमा विक्रम संवत् सुरु हुनु भन्दा करिब ४५० वर्ष पहिले लेखिएको ग्रन्थ सुर्य सिद्धान्तको गणितको नियम र आधुनिक वैज्ञानिक पद्धतिको पनि प्रयोग गरिन्छ । नेपाली पात्रोमा चन्द्र महिना र सुर्य महिना हुन्छन् । चन्द्र महिना शुक्ल पक्षको प्रतिपदा बाट सुरु भएर पुर्णिमा मा सकिन्छ । यसमा कृष्ण पक्षका १५ दिन (प्रतिपदा, दुतिया, …, औँसी) र शुक्ल पक्षका १५ दिन (प्रतिपदा, दुतिया, …, पुर्णिमा) हुन्छन् । नेपाली चाड पर्वहरूको लागी यही चन्द्र महिनाका दिनहरू प्रयोग गरिन्छ जस्तै असोज शुक्ल दशमीका दिन दसै पर्छ । खास चन्द्रमाले पृथ्वीलाई ३६० डिग्री परिक्रमा गर्न २७.५५४५५ दिन लगाए पनि पुर्णिमा देखि अर्को पुर्णिमा सम्मलाई चन्द्र महिना मानिन्छ जुन २९.५३०६ दिनको हुन्छ । त्यसैले चन्द्र महिनालाई लिएर वर्ष बनाउँदा ३५४.३६७२ दिनको वर्ष हुन्छ जुन सौर्य वर्ष भन्दा १०.८७ दिन छोटो हुन्छ ।


पृथ्वीले सुर्यको परिक्रमा गर्दा ३६० डिग्री पार गर्न ३६५.२५६३६३ दिन लाग्छ । यसरी पृथ्वीले ३६० डिग्री पार गर्दा गणना गर्ने वर्षलाई निरायण वर्ष (sidereal year) भनिन्छ । नेपाली पात्रोले वर्ष गणना गर्दा निरायण वर्ष गणना गर्छ । तर इस्वी संवत् ले सायन वर्ष (tropical year) प्रयोग गर्छ । सायन वर्षमा हाल ३६५.२४२१९ दिन हुन्छन् । पृथ्वी भुरुङ जस्तै ढल्केर आफू घुम्ने भएकोले (precession of the equinoxes)  सायन वर्षमा ऋतु मिलाउनका लागि हाल ३६० डिग्री नपुग्दै वर्ष टुङ्गिन्छ र यो हरेक वर्ष ३६० डिग्रीमा ५३.३" घट्दै जान्छ । हाल निरायण वर्ष र सायन वर्ष को फरक २० मिनेट २४.५ सेकेन्डको छ, त्यसैले करिब ७० वर्षमा १ दिनको र करिब १०५८ वर्षमा १५ दिनको फरक पर्छ । त्यसैले अहिले पुस १७ गते जनवरी १ छ भने १०५८ वर्ष पछि पुस २ गते जनवरी १ हुन्छ । विक्रम संवत् को सुरु देखि अहिले सम्म विक्रम र इस्वी संवतमा २९ दिन फरक परिसकेको छ । नेपाली पात्रो अनुसार यही कारणले गर्दा ऋतुहरू सर्दै जान्छन् तर इस्वी पात्रो अनुसार ऋतुहरू अचल हुन्छन् । तर नेपाली पात्रोका सौर्य महिना ठीक राशिमा (तारा गणको ठीक ठाउँमा जस्तै वैशाख मेश राशिबाट सुरु हुन्छ) सुरु हुन्छन् भने इस्वी पात्रोमा महिनाहरू राशिबाट सरि रहन्छन् ।  पृथ्वीको भुरुङ जस्तै ढल्केर आफू घुम्ने गति करिब २५७७० वर्षको भएकोले २५७७० वर्ष पछि निरायण वर्ष र सायन वर्ष त्यही ठाउँमा आइ पुग्छ र नेपाली पात्रो अनुसार ऋतुहरू पनि उही ठाउँमा पर्छन् ।


चित्रमा पृथ्वीको आफ्नो २४ घण्टे परिक्रमा र पृथ्वी ढल्किदैं घुम्ने २५७७० वर्षको परिक्रमा देखाइएको छ ।

चन्द्र महिना लाई लिएर वर्ष गणना गर्दा वर्ष १०.८७ दिन छोटो हुने भएकोले त्यसलाई सौर्य महिनामा अधिकमास (मलमास) को प्रयोग गरेर समायोजन गरिन्छ । अधिकमास परेको बेला १३ चन्द्र महिनाको वर्ष हुन्छ । अधिकमास परेको बेला थपिएको चन्द्र  महिनाका नाम अगाडि अधिक जोडिन्छ र पहिलेको चन्द्र  महिनाको अगाडि सुद्ध जोडिन्छ । जस्तै सुद्ध जेठ कृष्ण पक्ष र अधिक जेठ कृष्ण पक्ष । साधारणतया सौर्य महिना भित्र एउटा औँसी पर्छ र त्यो औँसी पर्ने चन्द्र महिनाको नाम पनि त्यही सौर्य महिनाको नामबाट राखिन्छ जस्तै पुस कृष्ण पञ्चमी । तर यदि कुनै सौर्य महिनामा दुई वटा औँसी पर्यो भने त्यो महिनामा अधिक चन्द्र महिना हुन्छ । तर कहिलेकाहीँ कुनै सौर्य महिनामा एउटा पनि औँसी परेन भने त्यो महिनाको नामको चन्द्र महिना हुँदैन । त्यसलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा क्षयमासको अगाडि र पछाडि गरेर दुई अधिकमास पनि पर्ने भएकोले वर्षको संरचना सधैँ झैँ १२ महिना र आवश्यक अधिकमास सहित को  नै हुन्छ । क्षयमास बारम्बार परि रहँदैन यो धेरै वर्षको अन्तरालमा मात्र पर्छ । क्षयमास १९ वर्ष देखि १४१ सम्ममा पर्न सक्छ । आज भन्दा पहिले वि. सं. २०३९ मा क्षयमास परेको थियो । क्षयमास छोटा महिनाहरू (मङ्सिर, पुस, माघ) मा पर्ने सम्भावना बढि हुन्छ भने अधिकमास लामा महिनाहरू (जेठ, असार, साउन) मा पर्ने सम्भावना बढि हुन्छ ।

विक्रम र इस्वी संवतमा फरक भएका दिनलाई मिलन गर्न ०६५ सालमा संस्कृति मन्त्रालयले जलकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलले दिएको सुझावका आधारमा ०६७ सालमा चैत महिना हटाउने निर्णय मन्त्रालयले गरेको थियो । तर यसको चौतर्फी विरोध भएपछि निर्णय फिर्ता लिइयो । कुरै नबुझि किन निर्णय गरेको होला ?

पृथ्वीले सुर्यको परिक्रमा गर्दा ३६० डिग्री पार गर्न ३६५.२५६३६३ दिन लाग्छ तर प्राचीन ग्रन्थ सुर्य सिद्धान्तको अनुसार वर्ष ३६५.२५८७५६ दिनको हुन्छ । नेपाली पात्रोले सुर्य सिद्धान्तको नियम मान्ने भएकोले सहि वर्ष र नेपाली पात्रोको वर्षको फरक ३ मिनेट २७ सेकेन्डको हुन्छ । यदि सहि समयको क्रम प्रयोग गरि वैज्ञानिक पात्रो बनाउने भए नेपाली पञ्चाङ्ग निर्माताहरूलाई म यो निरायण वर्षको समय सच्याउन सुझाव दिन्छु ।

छिमेकी राष्ट्र भारतमा पनि सुर्य सिद्धान्तको वर्षलाई सच्याएर निरायण वर्षको सहि समय प्रयोग गर्न पात्रो सुझाव आयोगले इस्वी १९८८ मा प्रतिवेदन पेस गरेको छ । त्यस सुझावमा महिनाका दिनहरू निश्चित राख्ने र चन्द्र महिनाको गणना पौराणिक तरिकाले नै गर्ने भनिएको छ । चैत ३०/३१, वैशाख ३१, जेठ ३१, असार ३१, साउन ३१, भदौ ३१ र बाँकी महिना ३० दिनको गर्नु पर्ने सुझाव दिइएको छ । चैत महिना ३० दिनको हुनेछ र यो चार चार वर्षमा ३१ को हुने छ र हरेक १६० वर्ष पछि ३१ को हुने छ । इस्वी २००४ मा यो पात्रोको प्रयोग सरकारले सुरु गर्यो र चैत नभइ फागुनलाई ३०/३१ दिनको गरायो ।

नेपालको पुरानो संवतलाई जोगाउ, यसलाई वैज्ञानिक बनाउ, सौर्य वर्ष र महिना सबैले बुझ्ने र हिसाब गर्न सक्ने बनाउ ।

सन्दर्भ सामग्रीहरू:
Calendrical Calculation by Nachum Dershowitz
Indian Calendric System by SK Chatterjee