Thursday, November 20, 2014

नेपाली कीबोर्डको (कुञ्जीपाटीको) बनावट

नेपाली कीबोर्ड लेआउट बकमान कसरी बन्यो होला ? सकी नसकि जानी नजानी जबरजस्ती मैले यो किबोर्ड लेआउटलाई आत्मसाथ गरे । अहिले म बकमान लेआउटमा छिटो नभएपनि राम्रो सँग टाइप गर्न सक्छु । यो बिचार मैले यही लेआउट प्रयोग गरेर टाइप गर्दै छु । अहिले आएर मलाइ सारै कौतूहलता बढ्यो कि कसरी यो लेआउट बन्यो होला ।

अङ्ग्रेजी कीबोर्ड लेआउट ASDF (QWERTY) प्रयोगमा आउनुमा कुनै वैज्ञानिक तथ्य भेटिँदैन । यो कीबोर्ड लेआउट टाइप राइटर कम्पनि Remington ले ल्याएको भेटिन्छ । यान्त्रिक (Mechanical) कीबोर्डमा छिटो छिटो टाइप गर्दा अक्षरहरूमा जडीत मसीको रिबनमा ठोक्ने डन्डीहरू एक आपसमा ठोकिने भएको ले धेरै प्रयोग हुने अक्षरहरूलाई छुट्याएर बनाइएको थियो (यहाँ हेर्नुहोस्: http://en.wikipedia.org/wiki/QWERTY) । तर के गर्ने Remington को टाइप राइटर यति प्रख्यात भयो कि पछि कम्युटर मा प्रयोग हुने कीबोर्ड लेआउट पनि Remington टाइपराइटरको कीबोर्ड लेआउट जस्तै भयो । यस्तो हुनुमा धेरै मानिसहरू यो लेआउटमा अभ्यस्त थिए र उनीहरू नया लेआउट प्रयोग गर्न चाहँदैनथे । पछि August Dvorak ले वैज्ञानिक हिसाबले तयार पारेको कीबोर्ड लेआउट प्रस्ताव गरे जसलाई दोभारक लेआउट भनिन्छ । तर दोभारक किबोर्ड लेआउटले QWERTY लाई हटाउन सकेन र सन १८७३ देखि आजसम्म हामी त्यो समस्या समाधान गर्न बनाएको लेआउट चलाउँदै छौं जुन आजको समस्या नै हैन । यो कुरा मलाई बाङ्गो हेन्डल भएको साइकल चलाएको मान्छेलाई सोझो हेन्डल भएको साइकल चलाउन गाह्रो भए जस्तो लाग्यो ।

मलाई त लागेको थियो कि हिन्दी देवनागरीमा लेखिने भएकोले भारत बाट टाइपराइटर ल्याएर त्यही टाइपराइटरको प्रयोग गरेर नेपाली टाइप गर्न थालियो र पछि त्यसैको आधारमा प्रीति लगायतका बकमान लेआउटमा आधारित TTF फन्टहरु बने । तर त्यसो रहेनछ । नेपालीको लागि Remington ले छुट्टै लेआउट बनाएको रहेछ जुन हिन्दीको लागि बनाएको लेआउट भन्दा धेरै फरक रहेछ । अब मलाई पक्का भयो कि QWERTY लेआउटमा जस्तै बकमान लेआउटमा पनि यान्त्रिक कारणले अक्षरहरूलाई मिलाएर तयार पारिएको हो । यसमा पनि अहिले हुँदै नभएको समस्या समाधान गर्न बनाइएको लेआउट चलाउँदै छौं । यो बकमान लेआउटलाई परम्परागत (Traditional) लेआउट भनेर चिनिन्छ ।

नेपाली कम्युटर प्रयोगकर्ता ले प्रयोग गर्ने अर्को लेआउट हो Romanized लेआउट । यो लेआउटमा A मा अ, S मा स, … हुन्छ । QWERTY लेआउट चलाउनेहरूका लागि यो लेआउट उपयोगि हुन्छ । तर यो लेआउट पनि वैज्ञानिक छैन किनकी यो लेआउट पनि अक्षरको प्रयोगको संख्याका आधारमा बनाइएको हैन । अर्को transliteration अर्थात् ka , kha ख आदि प्रयोग गरेर पनि नेपाली टाइप गर्न सकिन्छ यो पनि वैज्ञानिक छैन । Transliteration पनि QWERTY लेआउट प्रयोग कर्ताका लागि उपयुक्त हुन्छ । Transliteration का लागि Google को सेवा पनि लीन सकिन्छ ।



मुख्यतः नेपालमा नेपाली टाइप गर्न दुईवटा कीबोर्ड लेआउट प्रयोग भएको पाइन्छ । एउटा Traditional (परम्परागत) र अर्को Romanized । जेभए पनि QWERTY लेआउट जस्तै बकमान (Traditional) लेआउट पनि आगामी दिन हरुमा प्रयोगमा आइरहने देखिन्छ । त्यसै गरि Romanized लेआउट पनि QWERTY प्रयोगकर्ता माझ चलिरहने छ । तर नेपालीको लागि August Dvorak ले जस्तै वैज्ञानिक लेआउट बनाउने जमर्को कसैले गर्ला र ?

No comments:

Post a Comment